सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने तयारी गर्न आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले यो देश नै बस्न लायक बन्ने बताएका हुन् ।
सभामुख अर्यालले देशमा सुशासन कायम हुने, भ्रष्टाचार अन्त्य हुने र नेपाली नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण निर्माण हुने बताए। उनले सबै धर्म र संस्कृतिप्रति सम्मान कायम रहने उल्लेख गर्दै नेपालीहरू परिवारसँगै आफ्नै देशमा बस्न पाउने दिन नजिकिएको धारणा व्यक्त गरे।
‘तमाम दिदी-भाइ, दाजुभाइहरू साँच्चै नै नेपाल फर्किने तयारी गर्नुस् । यो देश बन्छ । समृद्ध हुन्छ । यो देशमा सुशासन कायम हुन्छ । यो देशमा भ्रष्टाचार अन्त्य हुन्छ । यो देश नेपाली नागरिकलाई बस्न लायक देश बन्छ,’ उनले भने, ‘सबै धर्म मान्नेहरूले सम्मानजनक रुपमा आफ्नो धर्म मान्न पाउनुहुन्छ । सबै आफ्नो परिवारसँग बस्न पाउने दिनको पर्खाइमा हुनुहुन्छ ।’
उनले जनताको चाहनाअनुसार कानुन निर्माण गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता पनि जनाए। समाज र राष्ट्रलाई आवश्यक पर्ने कानुन निर्माणमा आफ्नो तर्फबाट शतप्रतिशत योगदान रहने उनको भनाइ थियो।
सभामुख अर्यालले आगामी केही वर्षभित्र जनताले वर्तमान राजनीतिक नेतृत्वको उद्देश्य र कामको परिणाम महसुस गर्ने दाबी गर्दै संविधान र कानुनको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए।












