काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने

Image

काठमाडौँ महानगरपालिकाले आगामी आइतबार सञ्चालन गर्न लागेको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन्।

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि शिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदन दिने २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको महानगरपालिकाले जनाएको छ।

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीहरुले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्र रंगीन प्रिन्ट भएको हुनु पर्नेछ महानगरको सूचनामा उल्लेख छ।

महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने निजी विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो।

यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि यही जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ ।

परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्।

साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ।

परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्ने महानगरले जनाएको छ। परीक्षा सञ्चालनका लागि महानगरको शिक्षा विभागले केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ।

स्वच्छ, निष्पक्ष परीक्षा सञ्चालन होस्, परीक्षालाई विद्यार्थीहरुले जटिल प्रक्रियाका रुपमा महसुस नगरुन् भनेर विद्यार्थीलाई त्रास उत्पन्न नगराउन र जानेको कुरामा निर्वाध उत्तर दिनका लागि सहजीकरण गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिइएको महानगरका शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।

महानगरले प्रदान गर्ने कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ। कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने महानगरको शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्दै आएको छ

परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ। यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ। नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११-१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन। महानगरको शिक्षा विभागले जेठ १ गतेदेखि १० गतेसम्म छात्रवृत्ति परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको थियो।

२०८० सालदेखि महानगरले व्यवस्थित रूपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्।

गत वर्ष काठमाडौँ महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए।

त्यसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्येबाट पनि करिब ४५ सय विद्यार्थीले मात्रै छात्तवृत्ति प्राप्त गरेका थिए।वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा छात्रवृत्तिको यो प्रणाली विकास गरेका थिए।