टेम्पो भिरबाट फालिएको प्रकरण : वन अधिकृतसहित १० जना नियन्त्रणमा

Image

कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।

भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।

विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भिरालो भूगोल र सन्तुलन नमिल्दा भिरबाट खसेको दाबी वन कार्यालयले गरेको थियो ।