सरकारले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने

Image

सरकारले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गर्ने भएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।

‘‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं,’ उनले भनीन् ।

मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको बताइन् । उनकाअनुसार विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद रहेको बताउँदै सरकारले संरचनात्मक परिवर्तन गरेको उल्लेख गरिन् ।

अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उनको भनाइ छ ।

विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।