पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, दर्जनौँ सवारी अलपत्र

Image

लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। बिहीबार साँझदेखि परेको अविरल वर्षापछि शुक्रबार बिहान लमजुङको बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार लगातारको वर्षासँगै सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। उनले वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा थप पहिरो जाने सम्भावना रहेको बताए।

सडक अवरुद्ध भएपछि हिमाली जिल्ला मनाङतर्फ जाने तथा मनाङबाट बेँसीसहर हुँदै अन्य गन्तव्यमा हिँडेका दर्जनौँ सवारी साधन बाटोमै अलपत्र परेका छन्।प्रहरीका अनुसार उक्त क्षेत्रमा हरेक वर्ष पटक–पटक पहिरो जाने समस्या दोहोरिँदै आएको छ। पाँचदेखि सात वर्षअघि गएको ठूलो पहिरोको स्थायी नियन्त्रण हुन नसक्दा हालसम्म पनि समस्या कायम रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

पहिरो नियन्त्रणका लागि संघीय सरकारको करिब १९ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण कार्य अघि बढाइए पनि काममा ढिलाइ हुँदा समस्या समाधान हुन सकेको छैन। २०८० सालमै सम्पन्न हुनुपर्ने परियोजना हालसम्म पूरा नभएकाले पहिरोको जोखिम यथावत् रहेको बताइएको छ।यस्तै, पहिरोकै कारण बेँसीसहर–घलेगाउँ सडक पनि अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–६ को पुमा भिर क्षेत्रमा पहिरो खस्दा उक्त सडकमा समेत यातायात सेवा प्रभावित भएको प्रहरीको भनाइ छ।