आगामी ४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना

Image

आगामी ३/४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार ३/४ दिनमा देशका बाँकी स्थान गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना देखिएको हो।

हाल मनसुन हाल कोसी, मधेस र बागमती प्रदेशका सबै भाग, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै ठाउँसम्म फैलिएको छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।

आज कहाँ, कस्तो छ त वर्षाको सम्भावना?

मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने तातो लहर हुने सम्भावना छ।

यस्तै राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

काठमाडौँमा खण्डित वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख पानी पर्ने सम्भावना छ।

‘अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ’, उनले शनिबार बिहान ८२० बजेतिर नेपालखबरसँग भनिन्, ‘तर यो बादल बिस्तारै घट्ने र घाम देखिने सम्भावना छ। तर दिउँसोपछि फेरि बादल बढ्ने र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। वर्षा खण्डित (एक ठाउँमा पानी पर्ने तर अर्को ठाउँमा नपर्ने) रूपमा हुने देखिन्छ।’