झापाको बिर्तामोडमा १८ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा इलामको पशुपतिनगर नगरपालिका-२ घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५, सुब्बाचोकस्थित दिदीभेनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पा रहेका छन्।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ स्थित हनुमान कम्प्लेक्समा गत असार १३ गते राति करिब ९ बजेको समयमा ती युवतीमाथि जबर्जस्ती करणी भएको थियो।
घटनालगत्तै फरार भएका बिगेन्द्रको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई असार १४ गते बिहान पौने ११ बजे नियन्त्रणमा लिन सफल भएको हो।
पीडित युवतीले घटना भएकै दिन राति ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित भई मौखिक जानकारी गराएको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा प्रहरीले पीडितको शारीरिक परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो। शारीरिक परीक्षणपश्चात् युवतीलाई बिर्तामोड-५ मा रहेको क्षितिज महिला समाज पुनर्स्थापना केन्द्रमा सुरक्षितसाथ राखिएको छ।
पक्राउ परेका शेर्पामाथि इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।















