स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै छनोट भएका उम्मेदवारहरूले तोकिएको कागजातहरूको सक्कल प्रति साथमा लिई असार १६ र १७ गते हुने अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कनपछि वर्णानुक्रमअनुसार उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले असार ४ गते गोरखापत्र दैनिकमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले छनोट भएका उम्मेदवारहरूको नामावली तथा अन्तर्वार्ताको विस्तृत तालिका समेत सार्वजनिक गरेको छ ।















