पुस्तान्तरण भन्ने कुरा साम्राज्यवादी एजेन्डा हो: प्रचण्ड

Image

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तान्तरणको विषय साम्राज्यवादी एजेन्डा भएको जिकिर गरेका छन्। 

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पुस्तान्तरणका कुरा सही नभएको दाबी गरे। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, प्रचण्डले पुस्तान्तरणको विषय ठीक नभएको भन्दै ब्याख्या गरेका थिए। 

‘पुस्तान्तरण भन्ने कुरा साम्राज्यवादी एजेन्डा हो,’ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘साम्राज्यावादीहरूले ल्याएका एजेन्डा हुन्, पुस्तान्तरणको कुरा सही होइन।’

नेकपाको महाधिवेशनको तयारीलाई केन्द्रीय कमिटीको भर्चुअल बैठक बसेको थियो। बैठकमा संयोजक प्रचण्डले तीन वटा विषयमा बोलेका थिए। 

पहिलो, महाधिवेशनको नियमावली र आचारसंहिताको प्रस्ताव राखेका थिए। त्यसलाई पढेर सुझाव दिन केन्द्रीय कमिटीका सदस्यलाई आग्रह गरेका थिए। 

द्रोस्रो, एमालेसँगको सहकार्यबारे ‘ब्रिफिङ’ गरेका थिए। ‘एमालेसँग एकता होइन, सहकार्यको कुरा हो। अहिले सहकार्य गर्ने हो,’ प्रचण्डले भनेका थिए। 

तेस्रो, नेकपालाई नयाँ ढंगले लग्ने विषय राखेका थिए। उनले केन्द्रीय सदस्यलाई गाउँगाउँ गएर महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका थिए। ‘अब नयाँ ढंगले जानुपर्छ। पार्टीलाई नयाँ ढंगले अगाडि लैजानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। 

त्यही क्रममा उनले पुस्तान्तरणको विषयबारे बोलेका हुन्। पुस्तान्तरण साम्राज्यवादी एजेन्डा भएकाले त्यसमा धेरै ध्यान दिनुनहुने प्रचण्डको जोड थियो। 

त्यसअघि केन्द्रीय कमिटीको बैठकलाई सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गरेका थिए। नेपालले पनि नयाँ ढंगले अघि बढ्नुपर्ने र महाधिवेशनलाई केन्द्रमा राखेर हिड्नुपर्नेमा जोड दिएका थिए। 

बैठकमा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार, सहसंयोजक नेपालले आधा घण्टा र संयोजक प्रचण्डले ४५ मिनेट जति बोलेका थिए। आफूले बोलिसकेपछि प्रचण्डले केन्द्रीय कमिटीको भर्चुअल बैठक सकिएको घोषणा गरेका थिए।