सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।
पहिलो चरणमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियानलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने उनको भनाइ छ।
सरकारले यस अभियानमार्फत वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका नागरिकलाई कानुनी अधिकार दिलाउँदै उनीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरेको छ।















