माधवजी र मलाई  सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् : प्रचण्ड

Image

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् ।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गरे । आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्ने सम्मको षड्यन्त्र बुनेको आरोप लगाए । ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ ।

संयोजक दाहालले भने, ‘हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ युवाहरूलाई ल्याऊँ नयाँ नेतृत्वको टिम बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ, माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले । कहिले दुबईमा प्रचण्डको १४० अर्ब छ भन्या छ, कताकता के–के हो के–के । केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो ।’

दाहालले थप भने, ‘बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो । हाम्रो कहाँ कति छ, यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् । तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ । अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस् ।’

उनले आफ्नो बारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि समेत जनाए ।