विपक्षी दलका प्रतिनिधिहरूले संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल छाडेका छन्। बहस प्रक्रियानै खारेज गर्नुपर्ने माग गर्दै उनीहरूले सोमबार कार्यदल छाडेको जानकारी गराएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सामूहिकरूपमा पत्र पठाउँदै आफूहरू दलको तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ।
कार्यदलका संयोजक असिम शाहले कार्यदल गठनको ८३ दिनसम्म बहसपत्र तयार पार्ने विषयलाई लिएर उनीहरू कुनै विरोध नगरेको र अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको देखिने बताए।
‘करिब तीन महिनाको अवधिमा देशविदेश र विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबाट आएका सुझावहरू बहसपत्रमा समावेश हुन गएमा सरकारको लोकप्रियता बढ्ने डरका कारण उहाँहरूले अन्तिममा आएर कार्यदल छाड्नुभएको हो,’ उनको आरोप छ।
उनले प्रतिवेदन लेखन कार्य अन्तिम चरणको पुगेको पनि जानकारी दिएका छन्। विपक्षी दलहरू कार्यदल छाडे पनि निर्धारित समयभित्रै बहसपत्र तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन्।













