टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ

Image

अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा बारमा भएको सामूहिक कुटपिट घटनामा नेपाली मूलका चार जनाविरुद्ध गम्भीर शारीरिक आक्रमणको अभियोग दर्ता गरिएको छ।

इर्भिङ प्रहरीका अनुसार जुलाई २ को मध्यरातपछि वेस्ट एयरपोर्ट फ्रिवेको ३४०० ब्लकमा रहेको ‘पिक रेस्टुरेन्ट एन्ड बार’मा १५ देखि २० जना संलग्न ठूलो झडप भएको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।

झडपका क्रममा बारभित्र बियरका बोतलसमेत प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेजको अध्ययनपछि प्रहरीले चार जनाले एक व्यक्तिमाथि सामूहिक रूपमा आक्रमण गरेको पुष्टि गरेको जनाएको छ। त्यसपछि प्रहरी टोलीले चारै जना अभियुक्त र घाइतेलाई इर्भिङस्थित बेलर स्कट एन्ड ह्वाइट मेडिकल सेन्टरमा फेला पारेको थियो।

प्रहरीका अनुसार ३१ वर्षीय सुरज बस्नेतले पीडितको टाउकोमा पटक–पटक मुक्का र लात प्रहार गरेको भिडियोमा देखिएको छ। अन्य अभियुक्तहरूले पनि मुक्का, लात, कुर्सी र सिसाका बोतल प्रयोग गरेर आक्रमण गरेको आरोप लगाइएको छ।

घटनामा पीडितको टाउकोमा गहिरो चोट लागेर टाँका लगाउनुपरेको, ओठ फुटेको, घाँटीमा चोट लागेको तथा मस्तिष्कमा चोट (कन्कसन) लागेको आशंका गरिएको प्रहरीले जनाएको छ। कन्कसन सम्बन्धी चिकित्सकीय परीक्षणको अन्तिम नतिजा भने आउन बाँकी रहेको छ।

यस घटनामा सुरज बस्नेत, २९ वर्षीय धीरज बस्नेत, २२ वर्षीय अमित खत्री (नेपाल) र २२ वर्षीय शोइब खड्काविरुद्ध गम्भीर शारीरिक चोट पुर्‍याएको अभियोगमा दोस्रो श्रेणीको फौजदारी मुद्दा दर्ता गरिएको छ।

यसैबीच, अमित खत्री (नेपाल)विरुद्ध चोरी भएको क्रेडिट कार्ड प्रयोग वा आफ्नो कब्जामा राखेको आरोपमा तेस्रो श्रेणीको अर्को फौजदारी मुद्दासमेत दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।