त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ। परिवारका सदस्यहरू जाहेरी दर्ताका लागि प्रहरी वृत्त कालीमाटी पुगेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा प्रहरीमा जाहेरी दर्ता हुने र त्यसपछि आवश्यक कानुनी प्रक्रिया सुरु हुन्छ।
“हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ। त्यसपछि कानुनी प्रक्रिया सुरु हुन्छ। पोस्टमार्टम गर्ने र शव सद्गदका लागि परिवारलाई बुझाउने काम हुन्छ। मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ,” एसपी भट्टराईले भने।आइतबार नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो। महानगर प्रहरीले राहदानी विभाग अगाडि नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरी र घटनाका प्रत्यक्षदर्शीहरूलाई बोलाएको थियो। उनीहरूसँग सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले छाडेको जनाएको छ।यस घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले घटनाको वास्तविकता, जिम्मेवारी र आवश्यक कानुनी पक्षबारे अनुसन्धान गर्नेछ।














