मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको छ। मंगलबार बिहान बसेको विपद् व्यवस्थापन समिति चितवनको आपतकालीन बैठकले मुग्लिन- नारायणगढ सडक खण्डमा कुनै पनि प्रकारको सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
अविरल वर्षासँगै मुग्लिन-नारायणगढ सडक खण्डका विभिन्न स्थानमा हिजो साँझदेखि नै पहिरो लगायत माथिबाट लेदो खस्ने क्रम चलिरहेको छ।
सोमबार साँझदेखि नै मुग्लिन नारायणगढ सडक खण्डमा पर्ने तुइनखोलामा दुईतर्फि नै अवरुद्ध हुँदै आएको छ। सडक अबरुद्ध हुँदा यस सडक खण्डको बिचमा अलपत्र परेका यात्रु लगायत सवारीसाधनहरूलाई गएराति पहिरो हटाएर स्थानीय प्रशासनले गन्तव्यस्थानतर्फ पठाएको थियो।
तर, निरन्तर वर्षा भइरहेको र यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले सुरक्षाको दृष्टिकोणले अर्को सूचना जारि नहुन्जेलसम्मका लागि यो सडक खण्डमा कुनै पनि प्रकारको सवारीसाधन संचालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
मंगलबार बिहान मुग्लिन नारायणगढ सडक खण्डको जलविले नजिकै पहिरो झरेको छ। उक्त पहिरो हटाउन सम्बन्धित स्थानमा मेशिन परिचालन भैसकेको पनि सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
कार्यालयले यस सडक हुँदै यात्रा गर्ने यात्रुले सडकको अवस्था बुझेर सुरक्षाकर्मीको निर्देशनमा सुरक्षित यात्रा गर्न पनि अनुरोध गरेको छ। यात्रा सावधानी, सचेतना तथा आवश्यक सहयोग, समन्वय एवं सहजीकरणका लागि भन्दै प्रहरीले विभिन्न नम्बर पनि सार्वजनिक गरेको छ।
सडकको अवस्थाको विषयमा जानकारी लिन नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४, जिल्ला आपतकालीन केन्द्रको १२३४, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ मा सम्पर्क गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ।















