लिन्डसे ग्राहमको निधनले इजरायल र युक्रेन दुवैलाई झट्का

Image

अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको निधन भएको छ । योसँगै अमेरिकी वैदेशिक नीति, विशेषगरी इजरायलसँगको सम्बन्ध र मध्यपूर्वको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिएका ग्राहमलाई इजरायलका सबैभन्दा प्रभावशाली अमेरिकी समर्थकमध्ये एकका रूपमा हेरिन्थ्यो।

हालैका महिनाहरूमा इजरायल र अमेरिकाबीच इरानसँग सम्भावित सम्झौताका विषयमा मतभेद देखिएको थियो। इजरायलले इरानप्रति कडा नीति अपनाउनुपर्ने अडान राख्दै आएको थियो भने ट्रम्प प्रशासनले कूटनीतिक पहललाई प्राथमिकता दिएको बताइन्छ। यही विषयमा दुवै पक्षबीच असमझदारी बढेको विश्लेषण भइरहेको छ।

ग्राहम इजरायलका दृढ समर्थक मात्र होइन, युक्रेनका बलिया पक्षधर र इरानका कट्टर आलोचक पनि थिए। निधन हुनुअघि गत शुक्रबार उनले किPभ पुगेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। भेटमा युक्रेनको हवाई सुरक्षा सुदृढीकरण र रुसविरुद्ध प्रस्तावित अमेरिकी प्रतिबन्ध विधेयकबारे छलफल भएको थियो।

जेलेन्स्कीले ग्राहमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको साँचो रक्षक बताएका छन्।टेक्सासका रिपब्लिकन सांसद माइकल म्याकलले ग्राहमको सम्मान गर्ने सबैभन्दा उचित उपाय उनले अघि बढाएको रुसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयक पारित गर्नु भएको बताएका छन्। उक्त विधेयकलाई गत साता ह्वाइट हाउसले समेत समर्थन जनाएको थियो।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ग्राहमको निधनलाई इजरायलका लागि ठूलो क्षति भएको बताएका छन्। विज्ञप्ति जारी गर्दै उनले भने, “इजरायलले आफ्नो सबैभन्दा ठूलो समर्थकमध्ये एकलाई गुमाएको छ। मैले एक असल मित्र गुमाएको छु।”

नेतान्याहुले ग्राहम इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने अभियानमा सधैं दृढ रहेको र कठिन परिस्थितिमा पनि इजरायलको पक्षमा उभिने नेता भएको बताएका छन्।

ग्राहमले इजरायलका लागि अमेरिकी सैन्य सहयोग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनले इजरायल–साउदी अरब सम्बन्ध सामान्यीकरणका प्रयासलाई पनि सक्रिय रूपमा अघि बढाएका थिए। साथै, इरानको इस्लामिक शासनविरुद्ध कडा नीति अपनाउनुपर्ने धारणा राख्दै आएका उनी कतिपय अवस्थामा सैन्य कारबाहीको समेत खुला समर्थन गर्थे।

कङ्ग्रेसमा वरिष्ठ सिनेटरका रूपमा उनले अमेरिकी वैदेशिक सहायता र रक्षा बजेटमा उल्लेखनीय प्रभाव राखेका थिए, जसका कारण मध्यपूर्व नीतिमा उनको भूमिका अझ प्रभावशाली बनेको थियो।

यद्यपि पछिल्ला वर्षहरूमा अमेरिकाभित्र इजरायलप्रतिको समर्थन क्रमशः कमजोर बन्दै गएको छ। विशेषगरी गाजामा इजरायलको सैन्य अभियान र इरानप्रतिको आक्रामक नीतिका कारण डेमोक्र्याट र रिपब्लिकन दुवै दलभित्र आलोचना बढ्दै गएको छ।

इजरायली अधिकारीहरूसँग निकट एक मध्यपूर्व विश्लेषकले पोलिटिकोसँग कुरा गर्दै भने, “लिन्डसे ग्राहम इजरायललाई क्षेत्रीय रूपमा अझ बलियो बनाउन र इरानी प्रभावलाई रोक्न निरन्तर सक्रिय रहने नेता थिए। उनको अभाव इजरायलका लागि ठूलो क्षति हो।”

राष्ट्रपति ट्रम्पले पनि ग्राहमको निधनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकहरूमध्ये इजरायल रहेको बताएका छन्।

तर इरानमा भने फरक प्रतिक्रिया देखिएको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमले ग्राहमको मृत्युबारे सकारात्मक टिप्पणी गर्दै एउटा समाचारको शीर्षक नै “मृत्युको व्यापारीको मृत्यु” राखेको थियो।

बाइडन प्रशासनका बेला इजरायलका लागि अमेरिकी राजदूत रहेका टम नाइड्सका अनुसार ग्राहम इजरायल–साउदी अरब सम्बन्ध सामान्यीकरणका सबैभन्दा प्रभावशाली अमेरिकी आवाज थिए। गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि उक्त पहल रोकिएको थियो। त्यसपछि साउदी अरबले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने स्पष्ट प्रतिबद्धता बिना सम्बन्ध सामान्य बनाउन नसकिने अडान राख्दै आएको छ।

नाइड्सका अनुसार ग्राहमको स्थान लिन सक्ने सम्भावित नेताहरूमा टेक्सासका सिनेटर टेड क्रुज र अर्कान्सासका सिनेटर टम कटनको नाम चर्चामा छ। उनीहरू पनि राष्ट्रिय सुरक्षाका विषयमा कडा धारणा राख्ने भए पनि ग्राहमजत्तिको ट्रम्पसँगको निकट सम्बन्ध भने छैन।

नाइड्सले भने, “लिन्डसे ग्राहम फरक प्रकारका नेता थिए। उनीसँग डेमोक्र्याटहरू असहमत हुन्थे, तर व्यक्तिगत रूपमा सम्मान पनि गर्थे।”

राजनीतिक जीवनको सुरुवाती चरणमा ग्राहम ट्रम्पका कडा आलोचक थिए। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका क्रममा उनले ट्रम्पलाई “जातीय विभाजन बढाउने, विदेशीविरोधी र धार्मिक कट्टरता फैलाउने व्यक्ति” भनेका थिए। सामाजिक सञ्जालमार्फत ट्रम्पलाई उम्मेदवार बनाए रिपब्लिकन पार्टी नै संकटमा पर्ने चेतावनीसमेत दिएका थिए।

तर त्यसपछि उनी ट्रम्पका निकट सहयोगी र विश्वासपात्र बने। ट्रम्पसँग नियमित गल्फ खेल्ने साथीसमेत बनेका ग्राहमले अधिकांश प्रमुख वैदेशिक नीतिमा ट्रम्पलाई खुला समर्थन गरेका थिए।

यद्यपि सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणपछि ट्रम्पले आफ्ना करिब १,५०० समर्थकलाई दिएको आममाफीको निर्णयको भने ग्राहमले सार्वजनिक रूपमा विरोध गरेका थिए। उनले यस्तो कदमले भविष्यमा थप हिंसालाई प्रोत्साहन गर्न सक्ने चेतावनी दिएका थिए।

लिन्डसे ग्राहम सन् १९९० को दशकको अन्त्यतिर राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। त्यतिबेला उनी राष्ट्रपति बिल क्लिन्टनविरुद्धको महाभियोग प्रक्रियामा प्रतिनिधिसभाको अभियोजन टोलीका प्रमुख प्रबन्धक थिए। प्रतिनिधिसभाले क्लिन्टनमाथि महाभियोग लगाए पनि सिनेटले उनलाई सफाइ दिएको थियो।