सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीहरूले थालेको आन्दोलनले उग्र रूप लिएको छ । जेलर रूपक मण्डलको सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका कैदीबन्दीमध्ये केहीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि कारागार परिसर केहीबेर तनावग्रस्त बनेको हो।
जानकारीअनुसार राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता भएको आरोप लगाउँदै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलनमा छन् । उनीहरूले जेलर मण्डलको तत्काल सरुवा, कथित आर्थिक चलखेलको छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी कारागारभित्र प्रवेश गर्ने प्रयास गरेपछि कैदीबन्दी र सुरक्षाकर्मीबीच तनाव बढेको बताइएको छ ।
त्यसक्रममा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी पछि हट्न बाध्य भएको स्रोतको दावी छ । घटनापछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली कारागार परिसरमा परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई समेत घटनास्थलमा पुगेर समाचार संकलन गर्न रोक लगाइएको जनाइएको छ ।
आन्दोलनको केन्द्रमा रहेको आरोपअनुसार राजविराज(१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने प्रलोभन देखाएर चौकीदार कामेश्वर यादवमार्फत जेलरको नाममा ५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्। उक्त रकम कारागारबाहिरका विनोद यादव नामका व्यक्तिमार्फत लिइएको उनको दाबी छ ।
यता, रकम असुलीको विषयमा विवाद चर्किएपछि चौकीदारको सरुवा प्रक्रिया अघि बढाइएको र त्यसकै क्रममा केही कैदीबन्दीमाथि कुटपिट भएको आरोप पनि सार्वजनिक भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारभित्रको विवादका क्रममा कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको पुष्टि गर्दै अहिले छलफल र समझदारीमार्फत अवस्था सामान्य बनाइएको जानकारी दिए । उनका अनुसार चौकीदारको व्यवहारलाई लिएर कैदीबन्दीहरूबीच असन्तुष्टि बढेपछि विवाद उत्पन्न भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।













