ट्रमा सेन्टर विवादले मधेसको वातावरण फेरि बिग्रन सक्छ: सांसद यादव

Image

नेपाली कांग्रेसका सांसद प्रा.डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माणको विषयलाई लिएर उत्पन्न विवादले मधेसको वातावरण बिग्रन सक्ने बताएका छन्। 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले ट्रमा सेन्टर निर्माण विवादमा सरकारको ध्यानाकर्षण गराएका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको र सभामुखबाट सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन भइसकेको उनले स्मरण गराए। 

सांसद यादवले हालसम्म यो विषय सदनको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गरे। ढल्केबर ट्रमा सेन्टरका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्दा विभिन्न शंका-उपशंका उब्जिएको उनको भनाइ छ। ढल्केबजारमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। 

सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। ‘अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुनः आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ। त्यसैले सरकारले यस विषयमा बेलैमा स्पष्ट पार्नुपर्छ,’ सांसद यादवले भने। 

समितिका सभापतिमार्फत स्वास्थ्य मन्त्रीलाई सार्थक पहलका लागि आग्रह गर्दै उनले ट्रमा सेन्टर निर्माणमा किन अवरोध सिर्जना भएको हो भन्नेबारे देशलाई स्पष्ट पार्न माग गरे। 

समिति बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल भएको छ। त्यसक्रममा सांसद यादवले ट्रमा सेन्टर विवादले समस्या निम्त्याउन सक्ने बताएका हुन्।