रसुवा बाढीमा बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो

Image

रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा बाढीमा परेका ३५९ जनाको शव भेटिएको हो।

जिल्लागत रूपमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीमा परेर घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२, ग्रान्ड अस्पतालमा १, नर्भिक अस्पतालमा २, मनमैजुस्थित शुभम् अस्पतालमा २, वीर अस्पतालमा २, गिनसिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २ र वीरेन्द्र सैनिक अस्पतालमा १ जना रहेका छन्।

यसैबीच, उद्धार तथा खोजी कार्यमा खटिएका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

भोटेकोशीबाट आएको भीषण बाढी त्रिशूली नदीको तटीय क्षेत्र हुँदै विभिन्न जिल्लासम्म पुगेपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा अझै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।