अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् । ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् ।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘हामीले नेपाललाई फोन गरेका छौं र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौं । नेपालको नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ,’ ट्रम्पले भनेका छन् ।
उनले नेपालमा बाढीले निम्त्याएको क्षतिलाई ‘असाधारण’ भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवनसमेत ‘टुथपिक’ जस्तै बगेको बताए । उनले नेपाललाई सहयोग पठाइरहेको जानकारी दिँदै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
बाढी प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक प्रभावित भएको हुनसक्ने अनुमान गर्दै ट्रम्पले प्रभावित अमेरिकी नागरिकको पूर्णविवरण भने अझै प्राप्त नभएको बताए ।
तर, अमेरिकी समाचार संस्था सीएनएनले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बाढीपछि नेपालमा ९० जना अमेरिकी नागरिक बेपत्ता रहेको जनाएको छ । पूर्व ह्वाइट हाउस प्रेस सचिव करोलिन लेभिटले नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षा अमेरिकी प्रशासनको तत्कालीन प्राथमिकता रहेको बताइन् ।
उनले अमेरिकी सरकारले नेपाललाई सहयोग र सहायता प्रस्ताव गरिसकेको भन्दै राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोको पहिलो प्राथमिकता नेपालमा रहेका अमेरिकी नागरिकको उद्धार रहेको बताइन्।
अमेरिकाद्वारा ५ लाख डलर सहायता
अमेरिकी विदेश मन्त्रालयले रसुवा बाढीका कारण भएको विपद्को अवस्था नजिकबाट निगरानी गरिरहेको जनाएको छ । राहत तथा उद्धार कार्यमा सहयोग गर्न विपद् प्रतिक्रिया विज्ञलाई नेपाल पठाइएको पनि मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बाढीबाट ज्यान गुमाएकाहरूका परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिनेछ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोग गरिरहेको छ ।
बाढीका कारण तत्काल सहयोग आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न, स्थानीय समाचारमा ध्यान दिन तथा आपत्कालीन सूचनाका लागि स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम ९क्त्भ्ए० मा दर्ता हुन अमेरिकी विदेश मन्त्रालयले आग्रह गरेको छ ।













