नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । ईशान पाण्डेले ४०, देव खनालले ३९ रन जोड्दा गुल्शन झा ४४ तथा रोहित पौडेल २४ रनमा अविजित रहे । यस्तै, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे ।
बलिङतर्फ साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए । त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।
उसका लागि ओपनिङ ब्याट्सम्यान अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए । नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए ।
ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्नेछ ।














