भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा पुनःस्थापनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा पनि विद्युत् सेवा पुर्याउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भने खोज तथा उद्धारसँगै क्षतिको व्यवस्थापन तथा भग्नावशेष हटाउने काम जारी छ। माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत आयोजनामा उद्धार तथा पुनःस्थापनाका काम भइरहेको मन्त्रालयले जनाएको छ।
चिलिमे जलविद्युत् आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रमा पुगेको छ। लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो र ठूला चट्टान हटाउने काम भइरहेको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी बाढीले ल्याएको भग्नावशेष हटाउने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
मैलुङ खोला आयोजनाको अवस्थाबारे नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली पठाइएको छ। रसुवामा विद्युत् सेवा सञ्चालन गर्न थप समय लाग्ने स्थानका १ हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सडक अवरुद्ध भएका क्षेत्रमा सौर्य प्रणाली हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।
मन्त्रालयका अनुसार विद्युत् सेवा पूर्ण रूपमा पुनःस्थापना गर्न प्राविधिक टोलीले क्षतिग्रस्त संरचनाको मर्मत, वैकल्पिक आपूर्ति व्यवस्था तथा प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।














