मकवानपुरका ६ सुकुमवासी परिवारले पाए जग्गाधनी पुर्जा

Image

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ का ६ भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएका छन्।

जिल्ला भूमि समस्या समाधान समिति गठनपछि मकवानपुरमा पहिलोपटक आज (बुधबार) कानुनी प्रक्रिया पूरा गरी भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।

जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन तथा समितिका सदस्यसचिव एवं नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत महेश्वर कार्कीले लाभग्राहीलाई पुर्जा हस्तान्तरण गरेका हुन्।

पुर्जा पाउनेमा रामबहादुर योञ्जन, उद्धवप्रसाद लम्साल, रुद्रप्रसाद सिम्खडा, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी र जयराम पुडासैनी छन्। पाँच परिवारलाई जनही ३०४ दशमलव ७२ वर्गमिटर र एक परिवारलाई ३४० वर्गमिटर जग्गा उपलब्ध गराइएको छ।

एउटा कित्तामा करिब दुई धुर जग्गा बढी भएपछि लाभग्राहीले गोलाप्रथाबाट आ-आफ्नो कित्ता छनोट गरे। वडा तथा गाउँपालिकाको सिफारिसका आधारमा जग्गा बाँडफाँट गरिएको समितिले जनाएको छ।

पुर्जा पाएका जयराम पुडासैनीले लामो समयदेखिको प्रतीक्षा पूरा भएको बताए। आफ्नो जग्गाको कानुनी प्रमाण हातमा आउँदा खुसी लागेको उनले बताए।

समितिका सदस्यसचिव कार्कीले संख्या थोरै भए पनि यसबाट जिल्लामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम सुरु भएको सन्देश गएको बताए। उनका अनुसार नयाँ व्यवस्थाअनुसार जिल्ला समितिले गत जेठ ३० गतेदेखि काम सुरु गरेको हो।

भूमिहीनलाई पुर्जा वितरणका लागि निवेदन संकलन, वडास्तरीय सूचना, वडा सहजीकरण समितिको सिफारिस, गाउँ कार्यपालिकाको निर्णय, जिल्ला समितिबाट प्रमाणीकरण, जग्गा पहिचान तथा नापजाँच र दाबीविरोधसम्बन्धी सूचना प्रकाशनलगायत प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार जिल्लामा २५ हजार ५८० अव्यवस्थित बसोबासी, ४ हजार ९०१ भूमिहीन सुकुमवासी र ५२३ भूमिहीन दलितले जग्गाका लागि फाराम भरेका छन्।

कैलाशका ५७, बागमतीका ८८ र बकैयाका ५९ लाभग्राहीलाई समेत जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।