हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार व्रतालु महिलाको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन्।
दर्शनार्थीको व्यवस्थापनका लागि कोषले चारवटा छुट्टाछुट्टै दर्शन मार्ग सञ्चालनमा ल्याएको छ। विभिन्न स्थानबाट आउने भक्तजनलाई छुट्टाछुट्टै मार्ग हुँदै मन्दिरको उत्तर, पश्चिम, पूर्व र दक्षिण मुहारबाट दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
मित्रपार्कतर्फबाट आउने भक्तजनका लागि मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गरी उत्तरतर्फको र्याम्पबाट दर्शन गराउने व्यवस्था गरिएको छ। दर्शनपछि भक्तजनलाई पश्चिम ढोकाबाट बाहिर निकालिनेछ।
त्यस्तै जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको आकासे पुलबाट भुवनेश्वरी र नासलचोक हुँदै शङ्कराचार्य मठअघिको मार्गबाट पश्चिमतर्फको र्याम्पमा पुर्याई दर्शन गराउने व्यवस्था छ।
सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टर नजिकको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल र पूर्वढोकाबाट मन्दिर प्रवेश गरी पूर्व मुहारको दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पिङ्गलास्थानको ढोकाबाट प्रवेश गरी चार शिवालय, पञ्चदेवल वृद्धाश्रम हुँदै अस्थायी आकासे पुलबाट मन्दिर परिसरमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। उक्त मार्गबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराएपछि उन्मत्त भैरव मन्दिर हुँदै भक्तजनलाई बाहिर पठाइनेछ।
कोषका अनुसार बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्। लाममा बसेको करिब आधा घण्टामै दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको कोषले जनाएको छ। बिहान भदौरे झरी परे पनि भक्तजनको उत्साहमा कमी आएको छैन।
तीज पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। कोषका अनुसार करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक भक्तजन व्यवस्थापनमा खटिएका छन्।
दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा गरिएको छ।
हरितालिका तीजका अवसरमा पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर र त्रिपुरेश्वरलगायत शिव मन्दिरमा समेत व्रतालु महिलाको उल्लेख्य उपस्थिति रहेको छ।














