चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएपछि नेपालतर्फ त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले थुनिएको ताल फुटेको जानकारी दिएको हो।
प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’
छोचेन खोला र पुरेपु नदी त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदी हुन्। चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भएका यी नदी नेपाल प्रवेश गरेपछि रसुवागढी आसपास हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने गर्छन्।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो।
सम्भावित बाँध वा ताल फुट्ने जोखिमलाई मध्यनजर गर्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।
ताल फुटेको सूचना आएपछि रसुवा तथा त्रिशूली नदीको तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।











