ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौँ ल्याइएको छ।
तान्त्रिक तथा परम्परागत विधि अनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौँ ल्याइएको हो।
इन्द्रजात्राको लिङ्गोलाई नेपाल भाषामा ‘यःसिं’ भनिन्छ। नालाको जङ्गलबाट ल्याइएको यही लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याइन्छ। लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक रूपमा सुरुआत हुने धार्मिक मान्यता छ।
लिङ्गो छनोट र कटानको प्रक्रिया विशेष धार्मिक विधिसँग जोडिएको हुन्छ। परम्परा अनुसार काभ्रेको नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधिबाट रूख छनोट गर्ने गरिन्छ। विगतमा विशेष पूजा गरिएको बोका जङ्गलमा छाड्दा उसले छोएको रूखलाई लिङ्गोका लागि छनोट गर्ने चलनसमेत रहेको पाइन्छ।
काभ्रेको नाला वनबाट काठमाडौँसम्म लिङ्गो तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो। काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन, इन्द्रचोक भएर हनुमानढोकासम्म लिङ्गो ल्याउँदा बाटोभरि सर्वसाधारणको भिड लाग्ने गर्छ।














