१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभीरमा यातायात सञ्चालन

Image

 बाढीका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

भदौ १४ गते आएको बाढीका कारण कृष्णभीरमा करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भएपछि बिहीबार बिहानदेखि नियमित रूपमा सवारी सञ्चालन गरिएको हो।

सडक पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन अधिकतम परिचालन गरी छोटो समयमै नयाँ ट्र्याक निर्माण गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सडकमा रोकिएका सवारीसाधनलाई दुई दिनअघिदेखि नै चरणबद्ध रूपमा कटाइएको थियो।

कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सडक सञ्चालनसमेत बिहीबारदेखि नियमित गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएपछि तत्कालका लागि तुइन खोलामा गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए।

कृष्णभीर सडक लामो समय अवरुद्ध हुँदा ठूला सवारीसाधन काठमाडौं आवतजावत गर्न नसक्दा राजधानीमा एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको थियो।

भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। भदौ १४ गते पुनः आएको बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडक नै भासिएपछि लामो समय समस्या भएको हो।

पृथ्वी राजमार्गको उक्त सडकखण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।