जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयनपत्र दर्ता गर्ने क्रममा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा निर्विरोध निर्वाचन भए पनि अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ।
उम्मेदवारको प्रारम्भिक सूचीअनुसार सात जना उपाध्यक्ष निर्वाचित हुने पदका लागि १४ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल (सिरहा), डा. जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा)ले उम्मेदवारी दिएका छन्।
यस्तै, उपाध्यक्ष पदमा राजकुमार यादव त्यागी (सिरहा), डा. कमरुल्लाह अंसारी (बारा), सञ्जयकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोसन खातुन (बारा), हरपाल सिंह सोडी (बाँके) र मनोहरी देवी वैठा (सर्लाही)को पनि उम्मेदवारी परेको छ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एक जना निर्वाचित हुने महासचिव पदका लागि ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा)ले उम्मेदवारी दिएका छन्।
त्यस्तै, एक जना निर्वाचित हुने उपमहासचिव पदका लागि निर्मलकुमार मण्डल (सिरहा) र ललितचन्द्र मल्लिक (रौतहट)बीच प्रतिस्पर्धा हुने भएको छ।
सात जना निर्वाचित हुने सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। सचिव पदमा सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेसी (सप्तरी), हरेन्द्र चौधरी (रौतहट), अन्जनीदेवी (महोत्तरी), रोहित महतो (सिरहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाँके), बाल गोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ‘जीवन त्यागी’ (महोत्तरी) र रामबाबु साह (बारा)ले उम्मेदवारी दिएका छन्।
अध्यक्षसहित विभिन्न पदमा परेको उम्मेदवारीको अन्तिम सूची निर्वाचन प्रक्रियाअनुसार सार्वजनिक गरिने जनाइएको छ।














