चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु

Image

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार समितिको बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।

बैठकको प्रारम्भमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । उजुरीकर्ताहरूसँगको छलफल सम्पन्न भएपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

समितिले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जीव थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबरालाई सुनुवाइका लागि आमन्त्रण गरेको छ ।

प्रस्तावित राजदूतहरूको नियुक्तिअघि संसदीय सुनुवाइ समितिले उनीहरूको योग्यता, अनुभव तथा प्रस्तावित जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमतासम्बन्धी विषयमा सुनुवाइ गर्नेछ ।