दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न थालेको छ । असोज २५ र २६ गते दुई दिनमा मात्रै उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार थानकोट–नागढुङ्गा, साँगा र दक्षिणकालीलगायतका नाकाबाट उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।
बाहिरिने यात्रुमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् । असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना उपत्यकाबाट बाहिरिएका थिए । असोज २७ गतेको तथ्याङ्क भने आइनसकेको प्रहरीले जनाएको छ ।
दशैंमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको एसएसपी काफ्लेले जानकारी दिए ।















