पाकिस्तानमा विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु

Image

पाकिस्तानको पेसावरस्थित एक निजी विद्यालयको छत खस्दा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ बालबालिका र एक शिक्षिका रहेका छन् । अन्य ४० जना बालबालिका घाइते भएका छन् । 

बीबीसी उर्दूका अनुसार, यो दुर्घटना पेसावरको ‘दिर कलोनी’ क्षेत्रमा भएको हो ।

लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार, दुर्घटनापछि १८ बालबालिकालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । साथै, एक शिक्षिकाको शव पनि अस्पताल पुर्‍याइएको छ । 

प्रवक्ताले दुर्घटनामा घाइते भएका ४० बालबालिकालाई उपचारका लागि एलआरएचमा भर्ना गरिएको जानकारी दिएका छन् । घाइतेमध्ये केही बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पताल प्रशासन ट्रमा सेन्टरमा खटिएको र घाइतेहरूलाई तत्काल आपत्कालीन चिकित्सा सेवा उपलब्ध गराइरहेको छ ।