नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ।
रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उनले बताए।
सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिए।
भण्डारीले दसैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने उनको भनाई छ।
घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने समेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उन जानकारी दिए।
उनले भने, ‘हामीले रसुवा भोटेकोसी बाढीबाट प्रभावित जति पनि लाभग्राहीहरू हुनुहुन्छ, उहाँहरूलाई आधारित मानेर अहिलेलाई टेम्पोरेरी सेल्टर हजार वटा बनाउने, त्यसैगरी पर्मानेन्ट हाउजिङको लागि हजार वटा बनाउने गरि मन्त्रालयसँग सम्झौता गरेका छौँ। ५ हजार जना जति पनि लाभग्राहीहरू हुनुहुन्छ, जसको घर गएको छ, बाढीले घर बगाएको छ, उहाँहरूलाई रेन्टल असिस्टेन्स गर्ने भनेर पनि हामीले सहमति गरेका छौँ। यो सहमति तुरुन्तै लागू हुनेछ।’
रेडक्रस र भवन विभागबीच भएको सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोवास, स्थायी आवास निर्माण तथा भाडा सहायतामार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको उनको भनाई छ। सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिप्रनिधिहरुले हस्ताक्षर गरेका छन्।














