दसैँका चार दिन काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन प्रभावित हुने

Image

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। दसैँका मुख्य चार दिन सफाइ कर्मचारीसमेत पर्व मनाउन जाने भएकाले फोहोर सङ्कलन तथा व्यवस्थापनमा असर पर्ने महानगरपालिकाले जनाएको हो।

महानगरपालिकाले दसैँका बेला घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न उपत्यकावासीलाई अनुरोध गरेको छ।

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डमा सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेकी छन्।

‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन्।

महानगरपालिकाका अनुसार दसैँका मुख्य चार दिनबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुनेछ। उपत्यकाको फोहोर बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोरमैला व्यवस्थापनमा असुविधा हुन सक्ने भएकाले सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा फोहोर नफाल्न महानगरपालिकाले आग्रह गरेको छ।

महानगरपालिकाले चाडपर्वका समयमा घरआँगन, टोल तथा सार्वजनिक स्थान सफा र स्वच्छ राख्न, फोहोर घरमै वर्गीकरण गर्न तथा वातावरणीय स्वच्छता कायम राख्न सबै उपत्यकावासीलाई सहयोग गर्न अपिल गरेको छ।

दसैँका समयमा फोहोरको उचित व्यवस्थापन नहुँदा सार्वजनिक स्थानमा फोहोर थुप्रिने र वातावरण प्रदूषित हुने सम्भावना रहेकाले नागरिकलाई जिम्मेवार बन्न महानगरपालिकाले अनुरोध गरेको हो।