आज महानवमी पर्व, खुला गरियो तलेजु भवानी मन्दिर

Image

बडादसैँअन्तर्गत आज महानवमी पर्व। नवरात्रको नवौँ दिन आज दुर्गा देवीको नवौँस्वरूप माता सिद्धिदात्री र महालक्ष्मी देवीको विशेष पूजाआराधना गरी मनाइँदै छ।

आज कलपूर्जा, हातहतियार, मेसिनरी सामान तथा विभिन्न सवारीसाधनको पूजा गरी बलि दिने चलन छ। दसैँघर, कोत तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा, राँगा आदिको बलिसहित पूजा गरिन्छ। शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल बलि दिने र पायस (खिर) चढाउने गर्छन्।

यस अवसरमा विश्व सम्पदा सूचीमा रहेको काठमाडौँको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि खुला गरिएको छ।

यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा छ। आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि तलेजु भवानी मन्दिर खुला गरिएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताएकी छन्।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भिड लाग्ने गर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ ।

तुलजा भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदै छ। कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।