दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये १ नेपाली

Image

बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन।

घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्। प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ।

अन्य घाइतेमा एक साउदी नागरिक तथा भारत, यमन र बंगलादेशका दुई–दुई जना छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। जीएसीएका अनुसार विमानस्थलको सेवा पुनः सञ्चालनमा आइसकेको छ र हवाई उडान सामान्य अवस्थामा फर्किएको छ।

यसअघि बुधबारै बिहान साउदीको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन प्रहारले नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो।

घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।