इरानले स्ट्रेट अफ होर्मुजमा अमेरिकी युद्धपोतले जहाजलाई सुरक्षा दिने क्रम जारी राखे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको छ। इरानको सैन्य संरचनाभित्र वैचारिक निकायका रूपमा रहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले यस्तो चेतावनी दिएको हो।
आईआरजीसीले आफ्नो समाचार वेबसाइट सेपाह न्युजमार्फत जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यदि यो प्रवृत्ति जारी रह्यो भने द्वन्द्व यस क्षेत्रका अमेरिकी सैन्य अखडासम्म विस्तार हुने कुरा अमेरिकी सेनाले बुझ्नुपर्छ।’
आईआरजीसीले उत्तरी खाडी क्षेत्रमा अवैध रूपमा तेल ओसारपसार गरेको आरोपमा चारवटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। त्यस्तै, स्ट्रेट अफ होर्मुजमा अन्य तीनवटा जहाज समुद्री बारुदी सुरुङमा परेको बताइएको छ। यद्यपि, यी दुवै दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूके मेरिटाइम ट्रेड अपरेसन्स) का अनुसार अक्टोबर ८ देखि १७ सम्म कम्तीमा १४ वटा जहाजमाथि आक्रमण भएका छन्।
यस तनावका कारण विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा जहाजको आवागमन युद्धअघिको तुलनामा ७० प्रतिशतले घटेको छ।
स्ट्रेट अफ होर्मुजमा विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो। यहाँ हुने सैन्य तनावले तेल ढुवानी, अन्तर्राष्ट्रिय व्यापार र विश्व बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।यसैबीच, अमेरिकाले इरानको अर्थतन्त्रमाथि दबाब बढाउने उद्देश्यले उसका बन्दरगाहमा नौसैनिक नाकाबन्दी कायम राखेको छ।
इरानको उत्तरतर्फ र ओमानको दक्षिणतर्फ रहेको होर्मुज जलडमरु साँघुरो स्थानमा करिब ३० किलोमिटर मात्र चौडा छ। खाडी क्षेत्रका ऊर्जा उत्पादन गर्ने देशबाट विश्व बजारसम्म तेल तथा प्राकृतिक ग्यास ढुवानी गर्ने जहाजका लागि यो अत्यन्त महत्त्वपूर्ण मार्ग हो।














