ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भेले राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै पुनः सत्तामा फर्किने अवसर प्राप्त गरेका छन् । निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन् ।
निर्वाचनअघि सार्वजनिक भएका केही सर्वेक्षणमा फ्लाभियो अगाडि देखिए पनि अन्तिम नतिजा लुलाको पक्षमा आएको हो । यस जितसँगै लुलाले ब्राजिलको राजनीतिमा आफ्नो प्रभाव कायम राखेका छन् ।
लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए । सन् २०२२ मा जाइर बोल्सोनारोलाई पराजित गर्दै तेस्रो पटक राष्ट्रपति बनेका उनी पछिल्लो जितसँगै चौथो कार्यकालका लागि अघि बढेका हुन् ।
निर्वाचनका क्रममा सार्वजनिक यातायातसम्बन्धी समस्याका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको भन्दै लुलाको गठबन्धनले गुनासो गरेको थियो । त्यसपछि सर्वोच्च अदालतका एक न्यायाधीशले मतदानको समय दुई घण्टा थप्ने आदेश दिएका थिए ।
लुलाको जितलाई ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक शक्तिको प्रभाव बढिरहेका बेला आएको महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस क्षेत्रका रूढिवादी नेताहरूसँग सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला लुलाको पुनरागमनले अमेरिका र ब्राजिलबीचको सम्बन्धमा नयाँ चुनौती सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।
लुलाले ट्रम्पको आक्रामक विदेश नीतिको आलोचना गर्दै आएका छन् । अर्कोतर्फ, फ्लाभियोले निर्वाचन जितेको अवस्थामा अमेरिकी प्रशासनसँग निकट सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । अमेरिकाले पछिल्लो समय ब्राजिलमाथि व्यापार शुल्क तथा अन्य प्रतिबन्धसमेत लगाएको थियो ।
चुनावी अभियानका क्रममा लुलाले ऋणमाफी, सप्ताहान्तमा निःशुल्क सार्वजनिक यातायात र गरिब विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । विपक्षीले भने यस्ता कार्यक्रमले सरकारी वित्तीय अवस्थामा दबाब बढाउने र मतदातालाई प्रभावित पार्ने आरोप लगाएका थिए ।
फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनपछि सत्ता पल्टाउने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए । उनलाई २७ वर्षको जेल सजाय सुनाइएको र स्वास्थ्यका कारण घरमै राखिएको विवरणमा उल्लेख छ ।
मेटल उद्योगमा काम गरेका तथा ट्रेड युनियनबाट राजनीतिक यात्रा सुरु गरेका ८० वर्षीय लुलाले आफ्नो राजनीतिक जीवनमा गरिबी न्यूनीकरण र सामाजिक कल्याणका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल परेका उनी पछि रिहा भएर राजनीतिमा फर्किएका थिए ।
लुलाको पछिल्लो जितले बोल्सोनारो परिवारले अघि बढाएको दक्षिणपन्थी लोकलुभावन राजनीतिक आन्दोलनको प्रभावबारे नयाँ बहस सिर्जना गरेको छ । करिब पाँच दशक लामो राजनीतिक यात्रामा लुलाले हासिल गरेको यो उपलब्धिलाई ब्राजिलको राजनीतिक इतिहासमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
लुलाको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ देखि सुरु हुने विवरणमा उल्लेख गरिएको छ ।















