नेप्से परिसूचक झिनो अंकले बढेको छ । अन्तिम समयमा सम्हालिँदा मंगलबार नेप्से ०.९४ अंकले वृद्धि भएर बन्द भएको हो । बजार बढेर २६३०.७६ अंकमा उक्लिएको छ ।
झिनै अंकले बढे पनि लगानीकर्ता यो दिन तुलनात्मक रूपमा बढी सक्रिय देखिए । सोमबार तीन अर्ब ९५ करोडको कारोबार गरेका लगानीकर्ताले मंगलबार पाँच अर्ब ७९ करोडको सेयर कारोबार गरेका हुन् ।
बजार बढाउन जलविद्युत्, लघुवित्त र म्युचुअल फन्डले भूमिका खेले । यो दिन जलविद्युत्को १.६५ प्रतिशतले उपसूचक बढ्दा म्युचुअल फन्डको ०.३८ प्रतिशत र लघुवित्तको ०.०१ प्रतिशतले बढेको हो । अन्य समूहको भने उपसूचक घटेका छन् ।
कारोबारमा आएका ३६० कम्पनीमध्ये १३५ वटाको मूल्य बढ्दा १३६ वटाको मूल्य घटेको छ । बाँकी आठवटाको भने स्थिर रह्यो ।
बढेको बजारमा बेनी हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाए । यी दुवै कम्पनीको क्रमश १४.९६ प्रतिशत र १२.०९ प्रतिशतले मूल्य बढेको हो ।
सर्वाधिक घट्नेमा युनिलिभर नेपाल लिमिटेड छ । यो कम्पनीको मूल्य ४.९१ प्रतिशतले घटेको हो ।














