इरानको केशम टापुमा सोमबार राति लगातार विस्फोटका आवाज सुनिएका छन् । यसैबीच, अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानी सैन्य लक्ष्यहरूलाई लक्षित गरी ‘रक्षात्मक आक्रमण’ गरेको अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले सो जानकारी दिएका हुन् ।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार, सोमबार अबेर टापुमा एकपछि अर्को विस्फोट भएका थिए । प्रत्यक्षदर्शीले टापुको दक्षिणी तटमाथि दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । इरानको समाचार संस्था फार्सले बन्दर लेन्गेहसहरमा पनि समुद्रतर्फबाट विस्फोटका आवाज सुनिएको जनाएको छ ।
द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता सीमित पार्न अमेरिकी सेनाले प्रहार गरेको जनाएको छ । एक अधिकारीका अनुसार, अमेरिकाले व्यापक सैन्य कारबाही सुरु भएको सन्देश नजाओस् भनेर अभियान गोप्य राखेको थियो ।
एसोसिएटेड प्रेस (एपी)ले पनि अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संरचनाविरुद्ध जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गर्ने इरानी पक्षलाई लक्षित गरी रक्षात्मक आक्रमण गरिएको जनाएको छ ।
फक्स न्युज र एक्सियोसका पत्रकारहरूका अनुसार, होर्मुज क्षेत्रमा इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी विमानमाथि गोली चलाएपछि जवाफी आक्रमण भएको थियो । फक्स न्युजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो घटना अमेरिकाको व्यापक सैन्य कारबाहीको सुरुआत नभएको बताएको छ ।
इरान र अमेरिकाका अधिकारीहरूले घटनाबारे तत्काल आधिकारिक प्रतिक्रिया दिएका छैनन् । यसअघि सोमबार आईआरजीसीले केशमको दक्षिणमा इलेक्ट्रोनिक युद्ध प्रणाली प्रयोग गरी दुई अमेरिकी निगरानी ड्रोन कब्जा गरेको र होर्मुजको पूर्वमा एउटा एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको थियो ।
अमेरिकी आक्रमणको खबर राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत जोगाउन प्रतिस्पर्धा गरिरहेको मध्यावधि चुनावको पूर्वसन्ध्यामा आएको हो । यसअघि नै इरानमाथि अमेरिका र इजरायलका थप आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहेका थिए ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग चाँडै सम्झौता हुन सक्ने संकेत गरेका थिए ।














