गुल्मीमा १२ वर्षीय बालकसहित तीन वटा शव भेटिए

गुल्मीमा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन् । एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन् ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६ का ४८ वर्षीय घनश्याम भण्डारीको शव आइतबार बिहान सोही गाउँपालिकाको वडा नम्बर–५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा भेटिएको हो ।

मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमालको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा भेटिएको छ ।

यस्तै गुल्मीदरबार गाउँपालिका–२ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा भेटिएको हो ।

मृतक भण्डारी विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ ।

मृतककी श्रीमती दुई छोरी र एक छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार अहिले मृतकको विवरण सङ्कलन गर्ने काम भइरहेको छ।