खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् ।
बुधबार राती सार्वजनिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् । विमलाले ६ हजार ३१७ मत र खडेन्द्रले ५ हजार ९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईबाटपछि पारिएका थिए ।
उपमेयर राउतले ५ हजार ९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५ हजार ६६१ मत पाएका छन् । राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् । मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो । तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन् ।











