गोरखाको गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना विजयी भएका छन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको नगरपालिकाको नेतृत्व माओवादीले जनता समाजवादीसँग मिलेर खोसेको हो ।
माओवादीका रानाले १ हजार ८५६ मतान्तरले कांग्रेसका उम्मेदवार राजनराज पन्तलाई पराजित गरेका छन् । रानाले ८ हजार ९६४ मत ल्याएर विजयी हुँदा पन्तले ७ हजार १०८ मतमात्रै ल्याए । तेस्रो भएको एमालेका सम्झना देवकोटाले ४ हजार ९०९ मत पाइन् । यस्तै राप्रपाका रुद्रराज पाण्डेले ४१३ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी छन् । उनले गठबन्धनकी उम्मेदवार जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरेकी हुन् ।
मसलीले ७ हजार ४५३ मत ल्याएर विजयी हुँदा खत्रीले ६ हजार ७१८ मत पाए । तेस्रो भएको एमालेका देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् । राप्रपाकी सम्झना लामिछानेले २७३ मत पाइन् ।










