राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङ्देनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर समेत गरे । उनले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताए ।
सांसद लिङ्देनले भने, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्षयता हेरिरहेको छु । पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूला–ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो रु मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा ?’
सांसद लिङ्देनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिए ।














