नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन्। महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटले देशमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताए ।
सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे ।
‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने यो बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रूपमा प्रकट भएको छ’ उनले भने ।












