संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संसदमा प्रष्टिकरण दिएका छन् । भारतकै अदालतको आदेश अनुसार सलमान खान नेपाल आउन नमिलेको उनले प्रस्ट पारे ।
‘मैले के सुनेँ भने सलमान खान तथा उहाँसँग आउने कलाकारको मुद्दा अदालतमा विचाराधीन रहेको र देश बाहिर जान नपाउने अदालतको आदेशका कारण सो कार्यक्रममा ढिला भएको छ ।’
विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए ।
आफूले कार्यक्रम आयोजकलाई सलमान खानमात्र नभएर नेपाली कलाकारलाई पनि समेटौं भनेको र आयोजक पनि त्यसमा सकारात्मक रहेको जिकिर गरे ।
‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन मन्त्रालय सँग सहकार्य गरेकाले हामीले सहजीकरण मात्र गरेका हौं ।’














