यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारू नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।
सुरुमा दुईवटा विद्युत गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलु खोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ ।














