सिराहामा एक व्यापारीले आत्महत्या गरेका छन् । सिराहाको गोलबजार नपा–४ स्थित राजदेवी इन्टरप्राइजेजका सञ्चालक पप्पु महासेठले आत्महत्या गरेका हुन् । बैङ्कको ब्याजदर र आर्थिक मन्दीको तनावले उनले आत्महत्या गरेको महासेठको परिवारले जनाएको छ ।
उद्योग ब्यापार सङ्घ गोलबजारका महा–सचिव राकेश गुप्ताका अनुसार महासेठ करिब १० वर्ष टायल्स,मार्बलको पसल गर्दै आएका थिए । तर पछिल्लो समय कोभिड–१९ को महामारीपछि पौडेलको आर्थिक व्यवहार बिग्रिएको थियो ।
बैङ्कको दबाब र चर्को ब्याजदरका कारण आत्महत्या गरेको महासचिव गुप्ताले जनाएका छन् । मृतक महासेठको परिवार श्रीमती, दुई जना छोरा–छोरी छन्।
गोलबजारका महा–सचिव राकेश गुप्ताले बैङ्कको दबाब र चर्को ब्याजदरका कारण व्यापारीहरू मानसिक रूपमा कमजोर भएको र डिप्रेसनको सिकार भएको बताएका छन् ।
पछिल्लो समय उद्योगी व्यवसायीले बैङ्कहरूले वृद्धि गरेको ब्याजदरका विरुद्ध आन्दोलन गर्दै आएका छन् । बैङ्कहरूले वृद्धि गरेको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन् । व्यवसायका लागि ६ प्रतिशतमा लिएको ऋण बैङ्कले बढाएर १७ प्रतिशत पुर्याएको गुनासो व्यापारीको छ ।













