काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा र मोरङको बीचमा पर्ने मावा खोला मापदण्ड विपरीत उत्खनन गरेको घटनामा स्थानीय तहका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा लगाएको छ ।
ठेकेदारले अनुमति पाएको भन्दा धेरै नदीजन्य पदार्थ उत्खनन गरेको थाहा पाउँदा पाउँदै कर्मचारीले नियन्त्रणमा उदासिन भएको र स्थानीय तहलाई राजस्व हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ २५ पैसा राजस्व नोक्सान गरेको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।














