नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी(स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग रहेको बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सँगै बसेर संविधान लेखेको स्मरणसमेत गरे । एउटै संविधानमा ओलीलाई आरोप लगाउने छुट हुँदा आफूहरूलाई प्रतिवाद गर्ने छुट समेत रहेको बताए ।
सर्वोच्च अदालतले गिरिबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेपछि ओलीले नै पहिलो पटक आक्रामक प्रतिक्रिया दिएको उनको भनाइ थियो । उनले भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ । कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन । पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेको बोलेको हुँ । उहाँले आरोप लगाएपछि हामीले तथ्य राखेका हौँ । कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि ।’
एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार बिहान बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीका अध्यक्षप्रति कांग्रेसले लगाएको आरोपबारे लिखित माफी नमागेसम्म सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए ।
त्यसप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘यदि उहाँले भन्नुभएको रहेछ भने, मैले भन्ने यतिमात्रै हो। संविधान सँगै बसेर लेखेका हौँ । गलत आरोप लगाउने छुट उहाँलाई छ भने सहि प्रतिवाद गर्ने छुट पनि कांग्रेसलाई छ। यो उत्तर कोरिया होइन, यो नेपाल हो ।’















