नेकपा एमाले स्थायी कमिटी बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज ५ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।
नेकपा एमालेको गत फागुन २८ गते बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको छ । सो बैठकबाट पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पु-याइने र एमाले नेता माधवकुमार नेपाल पक्षसँग भइरहेको एकता प्रयास सफल हुने आशा एमाले नेता, कार्यकर्ताहरुले गर्नुभएको छ । यसै अवस्थामा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको छ ।
पार्टी अध्यक्ष ओली र नेपाल दुवै पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकतालाई नै जोड दिँदै आएको बताउँदै आए पनि पार्टी एकताको प्रयासले सार्थकता पाउन सकेको छैन ।